काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठलाई सहारा क्लब पोखराले नगदसहित सम्मान गर्ने भएको छ ।
१८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको दौरान सहारा क्लबले मिडफिल्डर सुजललाई सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सम्मान गर्ने भएको हो ।
सुजललाई सम्मानसहित ३५ हजार नगद प्रदान गरिने सहारा क्लबले जनाएको छ । उक्त नगद पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन् ।
नेपाली टोलीका नियमित सदस्य सुजलको कप्तानीमा नेपालले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेको थियो ।
सहारा क्लबले तीन वर्षअघिबाट आहा ! रारा गोल्डकपको दौरान हरेक वर्ष एक खेलाडीलाई सम्मान गर्दै आईरहेको छ ।
सहाराले पहिलो पटक भरत खवास र गतवर्ष कप्तान किरण चेम्जोङलाई यस पुरस्कारबाट सम्मान गरेको थियो ।
आहा ! रारा गोल्डकप फुटबल फागुन २२ गतेबाट चैत १ सम्म हुनेछ । उद्घाटन खेलमा ब्रिगेड ब्वाईज क्लब र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ ।