एजेन्सी । जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमण्डका कार्यकारी प्रमुख हान्स जोचिमले युवा फरवार्ड जाडोन सान्चोले क्लब नछाड्ने बताएका छन् ।
पछिल्लो समय सान्चो क्लबमा खुसी नरहेको र क्लब छाड्ने हल्ला चलिरहेको समय जोचिमले भने उनी क्लबमा एकदमै खुशी भएको र क्लब छोड्ने उनको चाहना नभएको दाबी गरेका छन् ।
‘मेरो विचारमा उनले क्लबमा राम्रो भविष्य भएको महसुस गरेका छन्,’ जोचिमले भने, ‘मेरो विचारमा उनले क्लब छोड्न चाहेको छैनन् ।’
यस सिजन सान्चोले क्लबका लागि १४ गोल र १४ गोलको लागि पास उपलब्ध गराईसकेका छन् । तर, क्लबमा हालै अर्का युवा फरवार्ड अर्लिङ होलाण्ड आएपछि उनले क्लब छाड्ने योजना बनाएको बताईएको छ ।
जोचिमले सान्चोसँग क्लबको सम्बन्ध राम्रो रहेको बताउँदै उनीसँग क्लब छाड्ने बिषयमा छलफल भएको समेत बताए ।
'उ र उनको एजेन्टबीच हाम्रो गोपनीय सम्बन्ध छ,' उनले भने, 'हामीले यस विषयमा छलफल गरेका छौँ ।'
इंग्ल्यान्डका १९ वर्षे फरवार्ड सान्चो सन् २०१७ मा म्यानचेस्टर सिटीबाट १० मिलियन पाउण्डमा डर्टमण्ड आएका थिए । जुन समय उनी १७ वर्षका थिए ।
यस्तै कार्यकारी प्रमुख जोचिमले पैसाका लागि सान्चोले क्लब नछाड्ने समेत बताए ।