इलाम । मछिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इलामको टुँडिखेलमा सोमबार भएको क्वाटरफाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र सफल भयो ।
टाइब्रेकरमा मछिन्द्रका रञ्जित धिमाल, वुद्ध चेम्जोङ, विमल घर्ति मगर, दिनेश राजवंशी र देवेन्द्र तामाङले गोल गरे ।
गोर्खाका फोडे फोफाना, सन्जिब लामा र गौतम श्रेष्ठले गोल गरे । तर, हम्जातको प्रहार पोस्टमा लागेर फर्किदा गोर्खा क्वाटरफाइनलमै रोकिनु पर्यो ।
अब मछिन्द्रले सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी दार्जिलिङसँग खेल्नेछ । झापा-११ लाई हराउँदै दार्जिलिङ अन्तिम चारमा पुगिसकेको छ ।
१० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।