काठमाडौं । ब्वाईज युनियन क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै ब्वाईजले दोस्रो जित निकालेको हो ।
ब्वाईजका विवेक पौडेल, टंक बहादुर स्याङतान, रोशन राना मगरले एक एक गोल गरे । पुल्चोकका आकाश राना र स्यारब लो तामाङले एक एक गोल फर्काए ।
जितसँगै ब्वाईजले ३ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा श्री कुमारी क्लबलाई हराएको ब्वाईज दोस्रो खेलमा बाँसबारी फुटबल क्लबसँग पराजित भएको थियो ।
पुल्चोकको यो लगातार तेस्रो हार हो । पहिलो खेलमा टुसाल युथ क्लबसँग परजित पुल्चोक दोस्रो खेलमा श्री कुमारी क्लबसँग पराजित भएको थियो ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।