धरान । पंचा पटकको च्याम्पियन नेपाल पुलिस क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरी सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर ४-४ गोलको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो ।
सडन डेथमा मछिन्द्रका कप्तान विराज महर्जनको प्रहार पुलिसका गोलकिपर सन्जित श्रेष्ठले बचाएका थिए । त्यसअघि पुलिसका कपिल ढकालले गोल गरेका थिए ।
टाइब्रेकरमा पुलिसका भोला सिलवाल, पदम भट्टराई, तिर्थ मगर र जुमानु राईले गोल गरे । सुमन सुवेदीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।
मछिन्द्रका रञ्जित धिमाल, विमल घर्ति मगर, विजय धिमाल र देवेन्द्र तामाङले गोल गर्दा विशाल राईको प्रहार पुलिसका गोलकिपर सन्जित श्रेष्ठले बचाए ।
पुलिससँगको हारसँगै सिजनको तेस्रो उपाधि जित्ने मछिन्द्रको सपना तुहिएको छ । सहिद स्मारक 'ए' डिभिजन लिग विजेता मछिन्द्रले झापाको सताक्षी गोल्डकपको उपाधि जितेको थियो ।
अब पुलिसले फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । भारतको युके एफसीलाई २-० ले हराउँदै मनाङ उपाधि नजिक पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् ।
यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन् ।