धनगढी । विभागीय टिम एपीएफ क्लब धनगढीमा जारी सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा बिहिबार भएको क्वाटरफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।
निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा एपीएफ सफल भयो ।
टाइब्रेकरमा एपीएफका सुदिप शिख्राकार, आशिष लामा, प्रविन स्याङतान र दिनेश राजवंशीले गोल गरे । नविन लामाको प्रहार भने पुलिसका गोलकिपर रोशन खड्काले बचाएका थिए ।
पुलिसका सौजन राई , तेज तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे ।
पुलिसका अजित भण्डारीको प्रहार एपीएफका गोलकिपर रोमन रसाइलीले बचाएका थिए । यस्तै भरत शाहको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो ।

अब एपीएफले सेमिफाइनलमा आयोजक सुदूरपश्चिम-११ सँग खेल्नेछ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा शुक्रबार हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब भिड्नेछन् ।
पुलिसलाई हराएपछि एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले टिमको रणनीति सफल भएको बताए ।
'पुलिसविरुद्धको रणनीति सफल भयो । आयोजक टिम बलियो छ । खेल कठिन हुनेछ,' श्रेष्ठले भने, 'खेलाडी थपेर राम्रो भयो । हामीले अर्को लिगका लागि उनीहरुलाई ल्याएको हो ।'
एपीएफले खप्तडको लागि च्यासल युथ क्लबबाट सहिद स्मारक 'ए' डिभिजन लिग खेलेका दिनेश राजवंशी र नितिन थापालाई अनुबन्ध गरेको छ ।

पुलिसका प्रशिक्षक सन्जिब जोशीले खेलाडीले लगातार खेल्नु परेको कारण नतिजा सोचेको जस्तो नआएको बताए ।
'आराम गर्न पाएनौं । तयारीमा थिएनौ । तरपनि खेलाडीले राम्रो खेले । पाएको मौका सदुपयोग नहुदा गाह्रो भयो,' उनले भने, 'आयोजकलाई आधा घण्टा मागेको थियौं । त्यो नपाउदा पनि गाह्रो भयो ।'
नवलपुरमा बुधबार सकिएको राइनो गोल्डकपको सेमिफाइनल र फाइनल लगातार खेलेको पुलिसले तेस्रो दिन नै एपीएफसँग खप्तड गोल्डकपमा प्रतिस्पर्धा गरेको हो ।
सुदुरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैया पाउने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।
