धरान । धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बिहिबार) हुँदैछ ।
धरान रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
सहिद स्मारक 'ए' डिभिजन लिग विजेता मछिन्द्र र पुलिस दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
यस सिजन दुई उपाधि जितिसकेको मछिन्द्र पुलिसलाई हराएर अर्को उपाधि नजिक पुग्न चाहन्छ । तर, पाँच पटकको च्याम्पियन पुलिस मछिन्द्रलाई हराएर फाइनल पुग्न चाहन्छ ।
त्यसैले मछिन्द्र र पुलिसबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । भारतको युके एफसीलाई २-० ले हराउँदै मनाङ उपाधि नजिक पुगिसकेको छ ।
यस अघि क्वाटरफाइनलमा मछिन्द्रले भारतीय क्लब सन्डे क्लब एफसी कोलकोत्तालाई हराएको थियो । पुलिसले मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरलाई हराएको थिय ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् ।
यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन् ।