धनगढी । सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनलमा बिहिबार दुई विभागीय टिमले प्रतिस्पर्धा गर्दैछ ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो ३ बजे सुरु हुनेछ ।
सहिद स्मारक 'ए' डिभिजन लिगमा पाचौं भएको पुलिसले बाई पाएर सिधै क्वाटरफाइनलमा एपीएफसँग खेल्न लागेको हो ।
एपीएफले भने एनआरटी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको थियो ।
।
दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ । त्यसैले डर्बी भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।
एपीएफविरुद्ध पुलिसलाई भने कठिन हुनेछ । किनकि पुलिसको टिम लगातार तीन दिनमा तीन खेल खेल्न लागेको छ । नवलपुरमा बुधबार सकिएको राइनो गोल्डकपको सेमिफाइनल र फाइनल लगातार खेलेको पुलिसले तेस्रो दिन नै एपीएफसँग खेल्न लागेको हो ।
पुलिसको टिम आज बिहान मात्रै धनगढी आइपुगेको छ । पुलिसको अर्को टिमले आजै बुढा सुब्बा गोल्डकपको सेमिफाइनल खेल्दैछ ।
प्रतियोगितामा दुई टिमले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । आयोजक सुदूरपश्चिम-११ र थ्री स्टार क्लबले अन्तिम चारको यात्रा तय गरिसकेको हो ।
देशकै सर्वाधिक राशिको मोफसल प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैया पाउने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।