एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान्चेष्टर सिटीसंग रियल मड्रिड पराजित भएको छ ।
बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई २–१ गोल अन्तरले हराएको हो ।
रियलको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा जित निकाल्दै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफुलाई बलियो बनाएको छ ।
खेलमा अग्रता घरेलु टोली रियलले ६० औ मिनेटमा ईस्कोको गोलबाट लिएको थियो ।
७८ औ मिनेटमा ग्याब्रियल जिससले खेल बराबरीमा ल्याएका थिए । खेल सकिन ७ मिनेट बाँकी छदाँ केभिन डी ब्रुईनीले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा अघि बढाए ।
८६ औ मिनेटमा रियलका कप्तान सर्जियो रामोस रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोलीले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । गोलका लागि अघि बढेका जिससलाई लडाएपछि रामोसले रातो कार्ड प्राप्त गरेका थिए ।

च्याम्पियन्स लिगमा सिटीले रियल मड्रिडलाई पहिलो पटक पराजित गरेको हो । दोस्रो लेगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा मार्च १० मा हुनेछ ।
बित्तिय अनुशासन पालना नगरेको भन्दै सिटीलाई युरोपेली फुटबलमा दुई बर्षको प्रतिबन्ध लागेको छ । आफुमाथि गरिएको कारबाहीबिरुद्ध सिटीले कोर्ट अफ आर्बिटेसनमा उजुरी दिएको छ ।