एजेन्सी । लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले मलोर्कालाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा अग्रता बार्सिलोनाले सातौ मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट लिएको थियो ।
भर्खरै बालेन डी ओर जितेका मेस्सीले १७ औ मिनेटमा बार्साको अग्रता दोब्बर बनाए ।
मलोर्काका बुदिमिर ३५ औ मिनेटमा पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।
तर मेस्सीले ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाए । त्यसको दुई मिनेटपछि लुईस स्वारेजले बार्सिलोनाका लागि चौथो गोल गरे ।
बुदिमिरले ६४ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनसंगको अंक दुरी घटाउने प्रयास गरेका थिए । तर ८३ औ मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई शानदार जित दिलाए ।
मेस्सीले ला लिगमा ३५ औ ह्याट्रिक पुरा गरेका छन् । उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको सर्वाधिक ह्याट्रिकको कीर्तिमान तोड्न सफल भएका छन् ।

बार्सिलोना १५ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
समान अंक भएपनि गोल अन्तरका आधारमा बार्सिलोनाले रियल मड्रिडलाई उछिनेको छ । मलोर्का १४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।