एजेन्सी । पाकिस्तानको यू-२३ टिम बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
ढाकामा बुधबार भएको सेमिफाइनलमा भारतको यू-२३ टिमलाई ३ रनले पराजित गर्दै पाकिस्तान उपाधि नजिक पुगेको हो ।
पाकिस्तानले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६४ रन मात्र बनाउन सक्यो ।
भारतका लागि सन्भिर सिंहले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा रभी सरथले ४७ रन बनाए । यस्तै अर्मान जाफरले ४६ रन जोडे । पाकिस्तानका मुहमद हसनेइन र सैफ बदरले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६७ रन बनाएको थियो ।
पाकिस्तानका लागि ओमेर युसुफले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सैफ बदरले अविजित ४७ रन जोड्दा हैदर अली खानले ४३ रन बनाए ।
भारतका सिभम माभी, सौरभ डुबे र हृतिक शोकेनले २/२ विकेट लिए ।
अब पाकिस्तानले उपाधिका लागि बंगलादेश र अफगानिस्तानबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।