एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबु धाबीले युएईमा जारी टी-१० क्रिकेट लिगमा लगातार दोस्रो हार व्यहोरेको छ ।
शेख जायद स्टेडियममा मंगलबार भएको खेलमा बंगला टाइगर्ससँग २७ रनले पराजित हुँदै आबु धाबीले लगातार दोस्रो हार व्यहोरेको हो ।
बंगलाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको आबु धाबीले १० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो ।
आबु धाबीका अभिस्का फर्नान्डोले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै लुक राईटले २० रन बनाए ।
बंगलाका क्वाइस अहमेदले ३ तथा थिसरा परेराले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलाले १० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।
बंगालाका लागि रिले रस्सोले अविजित ४४ रन बनाए । यस्तै आन्द्रे फ्लेटचरले ४२ तथा कोलिन इन्ग्रामले २३ रन बनाए ।
आबु धाबीका बेन लुन्घलिनले २ विकेट लिए ।
बंगलाविरुद्ध पारस भने टिममा अटाएका छैनन् । सुरुवाती दुई खेल खेलेका पारस लगातार दोस्रो खेलमा टिम बाहिर रहेका हुन् ।
यस अघि सोमबार राति आबु धाबी मराठा अरेबियन्ससँग २४ रनले पराजित भएको थियो ।