काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग पराजित भएको छ ।
मंगलबार भएको खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको हो । योसँगै नेपाल जिम्बावेसँग दोस्रो पटक पराजित भएको छ । सिरिज अन्तर्गत नै शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
ईन्डियन एसोसियसन मैदानमा जिम्बावेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन जोड्दा आरिफ शेखले २५ रन बनाए । यस्तै करण केसीले १८ रन जोडे । अघिल्ला खेलमा शतक बनाएका कप्तान पारस खड्का १२ रनमा आउट भए । अन्य नेपाली खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
जिम्बावेका सेन विलियम्सले ३ तथा टिनोटेण्डा मुटोमबोड्जीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।
सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यान तथा कप्तान सेन विलियम्सले उत्कृष्ट प्रर्दशन गरे । उनले ३५ बलमा ४ चौका र ३ छक्काको मदतले ५३ रन बनाए । उनलाई पारस खड्काले बोल्ड गरे ।
यस्तै जिम्बावेका रायन ब्रुलले अविजित २८ तथा पिटर मुरले २१ रन बनाए । टिनोटेण्डा मुटोमबोड्जीले २० रन जोडे ।
सन्दीप लामिछाने र सोमपाल कामीले सुरुवातमै विकेट लिदै जिम्बावेलाई दबाबमा राखेका थिए । नेपालका सन्दीप र सोमपालले समान २ विकेट लिए । पारस खड्काले एक विकेट हात पारे ।
यो जितसँगै जिम्बावे सिरिजको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जिम्बावेले ३ खेलमा ४ अंक जोडेको छ ।
३ खेलमा २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । हारसँगै नेपालको सिरिजको उपाधि जित्ने सम्भावना समेत न्यून भएको छ ।
अब नेपालले सिंगापुरसँग बुधबार अन्तिम खेल खेल्नेछ । यस्तै जिम्बावेले अन्तिम खेलमा बिहिबार सिंगापुरको सामना गर्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।