काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ५ ले पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ लाई जितका लागि १२३ रनको सामान्य लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले ४२ ओभरमा अलआउट हुँदै १२२ रन बनायो ।
प्रदेश ५ का लागि सुबेन्धु पाण्डेले २० तथा सुरज दरालले १८ रन जोडे । यस्तै सन्दीप सुनारले १४ तथा सौरभ खनालले १३ रन जोडे ।
प्रदेश ५ लाई सस्तैमा समेट्न प्रदेश ३ का लागि कप्तान पारस खड्काले २४ रन खर्चेर ४ विकेट लिए । सुर्य तामाङले ३ तथा नन्दन कुमार यादबले २ विकेट लिए ।
आज प्रदेश ३ पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा प्रदेश ३ एपीएफसंग ४१ रनले पराजित भएको थियो ।