काठमाडौँ। कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।
शुक्रबार सम्पन्न खेलमा कर्णालीले सुदूरपश्चिमलाई ४ विकेटले पराजित गरेको हो। कर्णालीले २ खेलबाट २ अंक जोडेको छ। सुदूरपश्चिमको यो पहिलो खेल हो।
सुदूरपश्चिमले दिएको १४४ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.४ ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनायो। कर्णालीका अर्जुन घर्तीले सर्वाधिक ३७ रन बनाए। ३३ बल खेलेका उनले ७ चौक प्रहार गरे।
विपिन शाही २७, हिमान्शु शाही २१ रनमा आउट हुँदा दिनेश अधिकारी ३१ र प्रकाश जैशी १० रनमा अविजित रहे।
सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले २/२ विकेट लिए। भोजराज भट्ट र नरेन साउदको नाममा १/१ विकेट रह्यो।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रन बनायो।
सुदूरपश्चिमका अभिषेक पालले सर्वाधिक ५१ रन बनाए। ४५ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे। नरेन भट्ट ४७ र किरण ठगुन्नाले २२ रन बनाउँदा अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
कर्णालीका दिनेश अधिकारीले सर्वाधिक २ विकेट लिए। प्रकाश जैशी, युनिश ठकुरी र दीपेन्द्र रावतको नाममा १/१ विकेट रह्यो।