काठमाडौँ। लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी शुरूआत गरेको छ। मंगलबार सम्पन्न खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
गण्डकीले दिएको १३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। लुम्बिनीका सुनिल भण्डारीले अविजित रहँदै सर्वाधिक ६० रन बनाए। ४६ बल खेलेका उनले ९ चौका प्रहार गरे।
आकाश त्रिपाठी ४४ र कप्तान देव खनाल १८ रनमा आउट हुँदा कृष्ण कार्की ३ रनमा अविजित रहे।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनायो।
गण्डकीका अर्जुन कुमालले सर्वाधिक ३१ रन बनाए। १८ बल खेलेका उनले ५ चौका प्रहार। अमृत गुरुङ १३, ईश्वर क्षेत्री १२ र करण पंगेनी १२ रनमा आउट हुँदा कमल परियार १६ रनमा अविजित रहे।
लुम्बिनीका नर सार्कीले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। निर्मल गुरुङले २ विकेट लिँदा अभिषेक गौतमको नाममा १ विकेट रह्यो।