काठमाडौँ। मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा बागमती प्रदेशलाई पराजित गरेको छ। मंगलबार सम्पन्न खेलमा बागमतीलाई मधेशले ६ विकेटले पराजित गरेको हो।
बागमतीले दिएको १४२ रनको लक्ष्य मधेशले १७ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। मधेशका साहिल पटेलले सर्वाधिक ६७ रन बनाए। ४९ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे।
रोहन बिक ३२ र मयंक यादव २३ रनमा आउट हुँदा कप्तान राहुल मण्डल १४ रनमा अविजित रहे। बागमतीका सुवास खत्री, गौतम केसी र सोनु देवकोटाले १/१ विकेट लिए।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनायो।
बागमतीका शुभ कंशाकारले सर्वाधिक ४३ रन बनाए। ३७ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। आशुतोष घिरौया ३७, रबिन जोशी १३, कप्तान रित गौतम १३ र उत्तम मगर १२ रनमा आउट हुँदा रामनरेश गिरी ७ र सुवास खत्री २ रनमा अविजित रहे।
मधेशका अभिषेक तिवारी, रुपेश सिंह र विशाल पटेलले २/२ विकेट लिए। रञ्जित कुमार र प्रदीप पासवानको नाममा १/१ विकेट रह्यो।