काठमाडौँ। सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध २८७ रन बनाएर दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमा कीर्तिमान बनाएको छ।
यसपटक ट्राभिस हेडले ३९ बलमा शतक प्रहार गर्दै टोलीलाई उक्त स्कोरमा पुर्याएका हुन्। इनिङ्स सकिएपछि हेडले अब आफ्नो लक्ष्य ३०० रनको टार्गेट दिनु रहेको बताएका छन्।
हेडले कप्तान प्याट कमिन्स र मुख्य प्रशिक्षक ड्यानियल भेटोरीको प्रशंसा गर्दै दुवैले ओपनरलाई स्वतन्त्र खेल्न दिएको बताए ।
बैंगलुरुविरुद्धको पहिलो इनिङ्सपछि प्रसारकहरूसँग कुरा गर्दै हेडले भने, ‘हाम्रो स्कोरमा अब तीन अंक आवश्यक छ। हामी सधैँ रोमाञ्चक हुन चाहन्छौँ, सधैँ खेलमा अगाडि हुन चाहन्छौँ। पावरप्लेको पूरा फाइदा उठाउन सकियोस् भनेर प्याट र ड्यानियलले हामीलाई स्वतन्त्र खेल्न दिएका छन्। त्यसैले हामीले खुलेर खेलिरहेका छौँ।’
उनीबाहेक हाइनरिक क्लासन, अब्दुल समद र नितिशकुमार रेड्डीजस्ता ठूला शट खेल्न सक्ने खेलाडी हैदरावादमा छन्। त्यसैले ओपनिङमा आएपछि आफूले सुस्त खेल्ने प्रयास नगरेको उनले बताए।
‘हामीसँग मध्यक्रममा राम्रा ब्याट्सम्यान छन्। त्यसैले सकेसम्म स्लो नखेल्ने प्रयास गर्छौँ। हरेक खेलमा ग्यारेन्टी दिन सक्दैनौँ, तर अहिलेका लागि हामीले राम्रो गरिरहेका छौँ र हरेक खेलमा हामीले चाहेको स्कोर बनाइरहेका छौँ,’ उनले भने।
बेंगलुरुविरुद्ध हैदरावादले कुल २२ छक्का प्रहार गरेको थियो। जुन आईपीएल इतिहासमा कुनै पनि टोलीले प्रहार गरेको सबैभन्दा धेरै छक्का हो। तीमध्ये ९ वटा छक्का हेड एक्लैले प्रहार गरेका थिए।
पावरप्लेमा हेडले अर्का ओपनर अभिषेक शर्मासँग ७६ रनको साझेदारी गरेका थिए। हेड १३औँ ओभरमा ४१ बलमा १०२ रन बनाएर आउट भए।
हेड आउट भएपछि पनि बेंगलुरु खेलमा फर्किन सकेन। तेस्रो नम्बरमा आएका क्लासनले ३१ बलमा ६७ रनको इनिङ्स खेले। एडेन मार्करामले १७ बलमा अविजित ३२ र अब्दुल समदले १० बलमा ३७ रन बनाए ।
हैदरावादले बनाएको स्कोर टी२० क्रिकेटमा दोस्रो उच्च हो। सन् २०२३ को एशियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो।