काठमाडौँ। साविक विजेता नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो।
जितसँगै समूह ‘बी’ मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।
कतारको यो दोस्रो हार हो। कतार पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो। नेपालले दिएको २१० रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनायो।
कतारका कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए। ३३ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे।
मोहम्मद अहनफ २३, अदनान मिर्जा १९ र कामरान खानले १८ रन बनाउँदा हिमान्शु राठोड २२ रनमा अविजित रहे।
नेपालका ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्शनकुमार झाले २/२ विकेट लिए। कुशल मल्ल र अविनाश बोहराको नाममा १/१ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो।
नेपालका दीपेन्द्रसिंह ऐरीले २१ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै अविजित ६४ रन बनाए। दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए।
यस्तै, ओपनर आशिफ शेखले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलको सामना गर्दै ६ चौका प्रहार गरे।
कुशल मल्ल ३५, रोहितकुमार पौडेल १८, कुशल भुर्तेल १२, सन्दीप जोरा ७ र गुलशनकुमार झाले ५ रन बनाए। कतारका हिमान्शु राठोड र मुसावर शाहले ३/३ विकेट लिए। अमिर फारुकको नाममा १ विकेट रह्यो।