काठमाडौँ। अलिशान शराफु, मोहम्मद वासिम र आशिफ खानले अर्धशतक प्रहार गरेसँगै यूएईले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ।
शनिबार सम्पन्न समूह ‘बी’को दोस्रो खेलमा यूएईले बहराइनमाथि ३७ रनको जित हासिल गरेको हो। जितसँगै यूएईले २ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा यूएईले कुवेतलाई ७ विकेटले पराजित गरेको थियो।
बहराइनको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा बहराइन ओमानसँग ३ रनले पराजित भएको थियो। यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमउँदै १९९ रन मात्रै बनाउन सक्यो।
बहराइनका इमरान अनवरले सर्वाधिक ६० रन बनाए। २२ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गरे। इमरान अली ३५, रिजवन बट १७, उमर तुर १७, सरफराज अली १४ र साथैया वीरपाथिरान १२ रनमा आउट हुँदा जुनैद अजिज २४ रनमा अविजित रहे।
यूएईका आयान अफजल खानले सर्वाधिक ३ विकेट लिए। मोहम्मद फारुकले २ विकेट लिँदा जुनैद सिद्दिकी, अकिफ राजा र मोहम्मद वासिमको नाममा १/१ विकेट रह्यो।
त्यसअघि अल अमेरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ २)मा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २३६ रन बनाएको थियो।
यूएईका अलिशान शराफुले सर्वाधिक ७८ रन बनाए। ४१ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गरे। आशिफ खान ६६ र कप्तान मोहम्मद वासिम ६५ रनमा आउट हुँदा सैय्यद हैदर १३ रनमा अविजित रहे।
बहराइनका इमरान अनवरले सर्वाधिक ३ विकेट लिए। रिजवान बट र अब्दुल माजिदको नाममा १/१ विकेट रह्यो।