चितवन। अमृत गुरुङले ६ विकेट लिएपछि गण्डकी प्रदेशले प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटको उपाधि जितेको छ।
शनिबार सम्पन्न उपाधि भिडन्तमा गण्डकीले मधेश प्रदेशलाई ४१ रनले पराजित गरेको हो। गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेशले १८.१ ओभरमा सबै विकेट गुमाउँदै १६० रन मात्रै बनाउन सक्यो।
मधेशका पवन सर्राफले सर्वाधिक ३५ रन बनाए। १४ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। विशाल सुस्लिङ २७, मयंक यादव १९, रुपेश सिंह १६, अभिषेक तिवारी १४, अरनिको यादव १३, साहिल पटेल १३ र राजेश यादवले १० रन बनाए।
अन्यको प्रदर्शन भने मधेशका लागि सन्तोषजनक रहेन। गण्डकीका अमृत गुरुङले सर्वाधिक ६ विकेट लिए। ३.१ ओभर बलिङ गरेका उनले १८ रन खर्चिए।
अंकित न्यौपाने २ विकेट लिँदा कमल परियार र सुवास भण्डारीले १/१ विकेट लिए।
त्यसअघि चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनायो।
गण्डकीका सन्दीप खत्रीले सर्वाधिक ४७ रन बनाए। १५ बल खेलेका उनले ५ चौका प्रहार गरे। करण पंगेनी ४३, दिनेश बूढामगर ३३, दीपक डुम्रे २८, अर्जुन कुमाल २२र ईश्वर क्षेत्री १० रनमा आउट हुँदा अमृत गुरुङ ५ र अंकित न्यौपाने १ रनमा अविजित रहे।
मधेशका विशाल पटेलले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २१ रन खर्चिए। रुपेश सिंह र रञ्जित कुमारले २/२ विके लिँदा राजेश यादवको नाममा १ विकेट रह्यो।
सेमिफाइनलमा गण्डकीले कर्णाली प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। मधेशले भने सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो।