चितवन। मधेश प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनलमा मधेशले शुक्रबार सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।
सुदूरपश्चिम प्रदेशले दिएको १४६ रनको लक्ष्य पछ्याएको मधेशले १७.५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
मधेशका लागि पवन सरार्फले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, शाहिल पटेलले ४८ रन बनाए। सुदूरपश्चिमका लागि नरेन साउदले ३ विकेट लिए।
त्यसअघि चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४५ रन बनायो। सुदूरपश्चिमको लागि वसन्त कार्कीले ३९ रन बनाए।
मधेश प्रदेशका लागि रन्जित कुमारले ६ विकेट लिए। ४ ओभर बलिङ गरेर उनले १९ रन खर्चे। मधेशले उपाधिका लागि गण्डकी प्रदेशसँग शनिबार खेल्ने छ।