काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटलका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना लागेको छ।
कोलकाता नाइटराइडर्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले उनी र दिल्लीलाई जरिवाना लगाएको हो।
विशाखापट्टनममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो। जवाफमा दिल्लीको टोली १७.२ ओभरमा १६६ रनमा सिमित भयो। चार खेलमा दिल्लीको यो तेस्रो हार हो।
यो खेलमा स्लो ओभर रेटका कारण उनलाई २४ लाख भारू जरिवाना गरिएको छ। यसअघि मार्च ३१ मा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा पन्तलाई १२ लाख भारू जरिवाना गरिएको थियो।
आईपीएलमा स्लो ओभर रेटका कारण बोर्डले जरिवाना लगाएको यो दोस्रो पटक हो। अहिले उनी एक खेल प्रतिबन्धको खतरामा छन्। तर, अहिलेसम्म बीसीसीआईले यसबारे कुनै जानकारी दिएको छैन।