काठमाडौँ। अलराउन्डर माइकल ब्रेसवेलले पाकिस्तानविरुद्धको आगामी टी–२० शृंखलामा न्यूजिल्यान्डको कप्तानी गर्ने भएका छन्। गत वर्ष चोट बोकेपछि ब्रेसवेल यही शृंखलाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किनेछन्। ब्रेसवेलले गत मार्चदेखि न्यूजिल्यान्डका लागि एक खेल खेलेका छैनन्। ब्रेसवेलले पहिलो पटक न्यूजिल्यान्ड टोलीको जिम्मेवारी सम्हाल्नेछन्।
न्यूजिल्यान्ड क्रिकेट बोर्डले बुधबार पाकिस्तानविरुद्धको टी–२० शृंखलाका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ। अनक्याप्ड खेलाडी टिम रोबिन्सन पनि टोलीमा परेका छन्। उनले यो शृंखलामा न्यूजिल्यान्डका लागि टी–२० अन्तर्राष्ट्रिय डेब्यु गर्ने मौका पाउन सक्छन्। विल ओ'रुर्केले पहिलो पटक टी–२० टोलीमा स्थान बनाएका छन्। तर, ओ'रुर्केले टेस्ट र एक दिवसीयमा डेब्यू गरिसकेका छन्।
न्यूजिल्यान्डले ट्रेन्ट बोल्ट, डेभन कोन्वे, लोकी फर्गुसन, म्याट हेनरी, डेरिल मिचेल, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर र केन विलियमसनजस्ता खेलाडीलाई टोलीमा समेटेको छैन। उनीहरू इन्डियन प्रिमियर लिग (आईपीएल)मा व्यस्त छन्। विल यंग, टम लाथम, टिम साउथी र कोलिन मुनरोपनि टोली छनोटमा उपलब्ध थिएनन्।
न्यूजिल्यान्ड टोली
माइकल ब्रेसवेल (कप्तान), फिन एलेन, मार्क चैपम्यान, जोस क्लार्कसन, ज्याकव डफी, डीन फक्सक्रफ्ट, बेन लिस्टर, कोल म्याकन्की, एडम मिल्ने, जिमी नीशम, विल ओ'रुर्के, टिम रोबिन्सन, बेन सियर्स, टिम सेफर्ट, इश सोधी।