काठमाडौँ। नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ। बुधबार गुजरात क्रिकेट एसोसिएसनलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो।
नेपालले तीन खेलबाट ६ अंक जोड्यो। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ठ लयलाई समात्दै बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित गर्यो।
नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो।
गुजरातका कप्तान उमंग रोहितकुमारले सर्वाधिक ४७ रन बनाए। २४ बल खेलेका उनलर् ४ चौका र २ छक्का प्रहार गरे।
अभिषेक देसाईं २०, स्मित पटेल १९ र प्रियेश पटेल १७ रनमा आउट हुँदा हर्ष देसाईं २९ र ध्रुशान्त सोनी ९ रनमा अविजित रहे। अन्यको प्रदर्शन भने गुजरातका लागि राम्रो रहेन।
नेपालका सोमपाल कामी, गुल्शनकुमार झा र कुशल मल्लले २/२ विकेट लिए। विवेककुमार यादवको नाममा भने १ विकेट रह्यो।
त्यसअघि गुजरातको वापीमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो।
नेपालका शेखले सर्वाधिक ८५ रन बनाए। ५१ बल खेलेका उनले १० चौका र ५ छक्का प्रहार गरे। भुर्तेलले भने ४४ बलमा ९ चौका र २ छक्कासहित ६७ रन प्रहार गरे।
१४औँ ओभरको तेस्रो बलमा आउट हुनुभन्दा अगाडि भुर्तेलले शेखसँग १२५ रनको साझेदारी गरेका थिए।
त्यसपछि कृजमा आएका कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा, कुशल मल्ल, अनिलकुमार साह र गुल्शनकुमार झाले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
विवेककुमार यादव ७ र प्रतिश जीसी ४ रनमा अविजित रहे। गुजरातका जयमित पटेलले सर्वाधिक ३ विकेट लिएर ध्रुशान्त सोनी र आर्य देसाईंको नाममा २/२ विकेट रह्यो। नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार बरोडासँग खेल्ने छ।