काठमाडौँ। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीसँगै नेपालले एसएमएस फ्रेन्डसिप कपमा गुजरात क्रिकेट एसोसिएसनलाई १८२ रनको लक्ष्य दिएको छ।
गुजरातको वापीमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको हो।
नेपालका शेखले सर्वाधिक ८५ रन बनाए। ५१ बल खेलेका उनले १० चौका र ५ छक्का प्रहार गरे। भुर्तेलले भने ४४ बलमा ९ चौका र २ छक्कासहित ६७ रन प्रहार गरे।
१४औँ ओभरको तेस्रो बलमा आउट हुनुभन्दा अगाडि भुर्तेलले शेखसँग १२५ रनको साझेदारी गरेका थिए।
त्यसपछि कृजमा आएका कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा, कुशल मल्ल, अनिलकुमार साह र गुल्शनकुमार झाले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
विवेककुमार यादव ७ र प्रतिश जीसी ४ रनमा अविजित रहे। गुजरातका जयमित पटेलले सर्वाधिक ३ विकेट लिएर ध्रुशान्त सोनी र आर्य देसाईंको नाममा २/२ विकेट रह्यो।