काठमाडौँ। आयरल्यान्ड उल्भ्सले तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’लाई पराजित गरेको छ।
बुधबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको हो। योसँगै पाहुना टोली आयरल्यान्डले शृंखलामा १–० को अग्रता बनाएको छ।
आयरल्यान्डले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २५.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो।
नेपालका साहब आलमले सर्वाधिक ३७ रन बनाए। ३४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। ओपनर देव खनाल २६ र बसीर अहमद २० रनमा आउट हुँदा रिजन ढकाल १२ रनमा अविजित रहे।
नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। आयरल्यान्डका म्याथ्यू हम्फ्रेजले सर्वाधिक ५ विकेट लिए। यस्तै, लियम म्याकार्थीको नाममा ४ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
आयरल्यान्डका कार्माइकलले सर्वाधिक ५१ रनको इनिङ्स खेले। ७७ बल खेलेका उनले ४ चौका प्रहार गरे।
कप्तान निल रक ३९, पिटर मूर २१, जेम्स म्याकमुलम १२ र स्टेफन डोहेनी १२ रनमा आएट हुँदा आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। ६.३ ओभर बलिङ गरेका उनले १ मेडनसहित २१ रन खर्चिए।
साहब आलम र श्याम ढकालले २/२ विकेट लिँदा रिजन ढकालको नाममा १ विकेट रह्यो।