काठमाडौँ। भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो खेल बुधबार आयोजक गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दै छ।
खेल गुजरातको वापीमा दिउँसो २:४५ बजे शुरू हुनेछ। जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ठ लयलाई समात्दै बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित गरेको थियो। योसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ।
जारी प्रतियोगितामा नेपाल शतप्रतिशत जितसहित ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। गुजरात भने २ अंकसहित नेपाललाई पछ्याइरहेको छ।
गुजरातले दोस्रो खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो। समूह चरणका दुई शीर्ष टोली फाइनल खेल्ने छन्। फाइनल खेल चैत २५ गते हुने छ।