काठमाडौँ। नेपालले एसीसी महिला एशिया कप २०२४ को पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ।
एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले उद्घाटन खेलमै पाकिस्तानको समना गर्ने पक्का भएको हो।
नेपाल समूह 'ए' मा रहेको छ। यस समूहमा नेपाल र पाकिस्तानसँगै भारत र यूएई रहेका छन्। एसीसीले पहिला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसीसी महिला प्रिमियर कपको फाइनल खेल्ने दुई टोलीलाई एशिया कप खेलाउने नियम बनाएको थियो।
तर, एसीसीले गत फ्रेबुअरी १०–१५ सम्म मलेसियामा आयोजना भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एशिया कप खेलाउने निर्णय गरेसँगै नेपालले स्थान पक्का गरेको हो।
प्रिमियर कपमा नेपालले समूह चरणमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। क्वार्टरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गरेको नेपालले सेमिफाइनलमा भने आयोजक मलेसियासँग ४ विकेटको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो।
नेपाल र मलेसियाबाहेक यूएई र थाइल्यान्ड पनि सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा यूएईले थाइल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि भिड्न्तमा मलेसियासँगको भेट पक्का गरेको थियो।
फाइनलमा यूएईले मलेसियालाई ३७ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। योसँगै थाइल्यान्डले पनि एशिया कपमा स्थान बनाएको छ। थाइल्यान्ड समूह 'बी' मा रहेको छ।
यस समूहमा थाइल्यान्डसँगै आयोजक तथा साविकको उपविजेता श्रीलंकासँगै बंगलादेश र मलेसिया रहेका छन्।
नेपालले समूह चरणको पहिलो खेल जुलाई १९ मा पकिस्तानसँग खेल्ने छ। यस्तै, दोस्रो खेल जुलाई २१ मा यूएईसँग खल्ने छ।
समूह चरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतसँग खेल्ने छ। दुई समूहको विजेता र उपविजेता टोलीले सेमिफाइनल खेल्ने छन्। सेमिफाइनका विजेता टोलीले उपाधिका लागि खेल्ने छन्।