काठमाडौँ। सञ्जु सामसनले कप्तानी इनिङ्स खेलेसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
आइतबार सम्पन्न दिनको पहिलो खेलमा राजस्थानले लखनउलाई २० रनले पराजित गरेको हो। १९४ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन मात्रै बनाउन सक्यो।
लखनउका निकोलस पूरनले अविजित रहँदै ६४ रन बनाए। ४१ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे। क्रुणाल पाड्या ३ रनमा अविजित रहे।
लखनउले पहिलो विकेट ४ रन बनाउँदा नै गुमाएको थियो। ट्रेन्ड बोल्टको बललाई फाइन लेगतिर खेल्ने धुनमा क्विंटन डिक नान्द्रे बर्गरबाट क्याच आउट भए।
थप ६ रन बनाउँदा देवदत्त पडिक्कल बोल्टबाटै बोल्ड हुँदै डक आउट भए। लगत्तै आयुष बदोनीलाई जोश बर्गरले मिडअफमा जोश बटलरबाट १ रनमा क्याच आउट गराए।
त्यसपछि लखनउको इनिङ्स दिपक हुड्डा र निकोलस पुरनले सम्हालेका थिए। उनीहरूले चौथो विकेटका लागि २६ बलमा ४९ रनको साझेदारी गरे।
दिपक आठौँ ओभरको तेस्रो बलमा ध्रुव जुरेलबाट डीप मिडविकेटमा २६ रनमा क्याच उट भए। युजवेन्द्र चहलको बलमा आउट हुनुपूर्व उनले १३ बलमा २ चौका र २ छक्का प्रहार गरे।
यता, ४ बल खेलेका मार्कस स्टोयनिस ३ रनमा समेटिए। राजस्थानका ट्रेन्ट बोल्डले सर्वाधिक २ विकेट लिए। नान्द्रे बर्गर, रवि अश्विन, युजवेन्द्र चहल र सन्दीप शर्माको नाममा १/१ विकेट रह्यो।
त्यसअघि सवाई मानसिंह स्टेडियम जयपुरमा टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो।
राजस्थानका सञ्जुले अविजित रहँदै ८२ रनको इनिङ्स खेले। ५२ बल खेलेका उनले ३ चौका र ६ छक्का प्रहार गरे। यता, ध्रुव जुरेल १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे।
राजस्थानले पहिलो विकेट १३ रन बनाउँदा नै गुमाएको थियो। नवीन उल हकको बललाई कभर ड्राइभमा खेल्ने क्रममा ओपनर जोस बटलर ११ रनमा आउट भए।
त्यसपछि राजस्थानको इनिङ्स अर्का ओपनर यशस्वी जयसवाल र कप्तान सञ्जु सामसनले उकास्ने प्रयास गरेका थिए। उनीहरूले दोस्रो विकेटका लागि १८ बलमा ३६ रनको साझेदारी गरे। यद्यपि, पाँचौँ ओभरको अन्तिम बलमा जयसवाल २४ रनमा पेभिलियन फर्किए।
मोहिसिन खानको बललाई पुल प्रहार गर्ने क्रममा उनी क्रुणाल पाड्याबाट मिडअनमा क्याच आउट भए। चौथो नम्बरमा आएका रियान परागले २९ बलमा १ चौका र ३ छक्कासहित ४३ रन बनाए। उनी १५औँ ओभरको पाँचौँ बलमा डीप स्क्वायर लेगमा दिपक हुड्डाबाट क्याच आउट भए।
पराग र सञ्जुले तेस्रो विकेटका लागि ५९ बलमा ९९ रनको साझेदारी गरे। शिमरोन हेटमेयर ५ रनमा आउट भए। लखनउका नवीन उल हकले सर्वाधिक २ विकेट लिए। मोहसिन खान र रवि बिश्नोईको नाममा १/१ विकेट रह्यो।