काठमाडौं । श्रीलंकाका पहिलो टेस्ट कप्तान बन्दुला वार्नापुराको सोमबार निधन भएको छ ।
वार्नापुराको ६८ वर्षको उमेरमा निधन भएको हो ।
वार्नापुरा नेपालको एक मात्र अन्तराष्ट्रिय क्रिकेट मैदान त्रिवि क्रिकेट मैदानको कन्सल्टेन्ट क्युरेटरको रूपमा समेत काम गर्दै आएका थिए ।
नेपालले एकदिवसीय अन्तराष्ट्रिय सिरिज आयोजना गर्दा बन्दुलाको निगरानीमा मैदान तयार गरिएको थियो ।
अन्तिम पटक उनी नेपालमा आयोजना भएको मलेसिया र नेदरल्यान्ड्सविरुद्धको त्रिदेशीय सिरिजमा कन्सल्टेन्ट क्युरेटरको भूमिका निभाएका थिए ।
यस्तै उनले एसीसी क्रिकेट डेभलपमेन्ट म्यानेजरको समेत काम गरेका थिए ।
दायाँहाते ब्याट्सम्यान वार्नापुराले सन् १९८२ मा इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट खेल्दा कप्तानीको भूमिका निर्वाह गरेका थिए । उनले थप तीन टेस्ट खेल्दा जम्मा ९६ रन बनाए ।
१२ एकदिवसीय खेलेका वार्नापुराले १ सय ८० रन जोडेका छन् । उनले आठ विकेट समेत हात पारेका थिए।
वार्नापुराले श्रीलंकाका लागि अन्तिम अन्तर्राष्ट्रिय खेलको रुपमा सन् १९८२ सेप्टेम्बरमा भारतविरुद्ध एकदिवसीय खेलेका थिए ।