काठमाडौं । भारतको हरियाणा प्रहरीले पूर्व क्रिकेटर युवराज सिंहलाई अदालतको आदेश अनुसार जातिवादी टिप्पणी गरेको मुद्दामा पक्राउ गरी जमानतमा रिहा गरिएको छ ।
सिंहमाथि गत वर्ष इन्स्टाग्राम च्याटमा अर्का क्रिकेटरविरुद्ध जातीय टिप्पणी गरेको आरोप लागेको थियो ।
प्रहरीले जनाए अनुसार सिंहलाई शनिबार औपचारिक रुपमा पक्राउ गरिएको तथा पञ्जाब र हरियाणा उच्च अदालतको आदेशका कारण केही घण्टापछि उनलाई जमानतमा रिहा गरिएको हो ।
सिंहले भारतका लागि ४० टेष्ट, ३ सय ४ एकदिवसीय र ५८ टी-ट्वान्टी खेल खेलेका छन् । भारतले सन् २०११ मा एकदिवसीय क्रिकेट विश्वकप जित्दा एक महत्वपूर्ण सदस्य थिए ।
उनले सो प्रतियोगितामा प्लेयर अफ द सिरिजको उपाधि हात पारेका थिए । २०१९ जुनमा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।