एजेन्सी । अष्ट्रेलियन टेष्ट क्रिकेट टिमका कप्तान टिम पेनेले स्टिभ स्मिथलाई कप्तानीमा सहयोग गर्ने बताएका छन् ।
दुई वर्षे कप्तानी निलम्बनमा रहेका स्मिथ गत आइतबारबाट फुकुवा भएको छ । निलम्बन फुकुवापछि कप्तान पेनेले स्मिथलाई पुन: कप्तानीमा सहयोग गर्न चाहेको बताएका हुन् ।
स्मिथ निलम्बनमा परेपछि पेनेले अष्ट्रेलियाको कप्तानी सम्हाल्दै आएका थिए ।
सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध बल टेम्परिङको आरोपमा स्मिथलाई क्रिकेट अष्ट्रेलियाले दुई वर्ष कप्तानी गर्न निलम्बन गरेको थियो । निलम्बन फुकुवासंगै स्मिथले अब कप्तानी गर्न पाउने छन् ।
स्मिथको निलम्बन फुकुवा भएपछि पेनेले कुनै खेलाडीसँग कप्तानी बारे कुरा नगरेपनि स्मिथलाई कप्तानी जिम्मा दिन आफु खुसी हुने बताएका हुन् ।
'स्मिथसँग कुरा गरेको त छैन । तर कुनै दिन पक्कै गर्ने छु,' पनेले भनेका छन्, 'मलाई लाग्छ आईपीएलबाट स्मिथ कप्तानी सुरु गर्ने छन् । यो उनले रुचाएको कुरा समेत हो ।'
'यदि स्मिथ अष्ट्रेलियाको कप्तानीमा फर्किन चाहेको खण्डमा म उनलाई समर्थन गर्छु ।' पेनेले थपे ।
अष्ट्रेलियाले जुनमा बंगलादेशसंग २ टेष्ट म्याचको सिरिज खेल्दै छ । तर, सिरिज स्थगित हुने बलियो सम्भावना रहेको छ । कोरोना भाईरसको कारण हाल विश्वभरका खेलकुद प्रतियोगिता स्थगित छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले समेत जुन महिनासम्मको सबै प्रतियोगिता स्थगित गरिसकेको छ ।