काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफुले इमान्दारीपूर्वक कप्तानको जिम्मेवारी पुरा गरेको बताएका छन् ।
कप्तानबाट राजिनामा दिएपछि एक कार्यक्रममा बोल्दै कप्तान पारसले आफुले आफ्नो कप्तानीको कार्यकाल इमान्दार भएर पुरा गरेको बताएका हुन् ।
'मलाई क्रिकेट संघले जुन जिम्मेवारी दिनुभयो । मैले त्यो जिम्मेवारी जति सक्दो इमान्दारीपूर्वक पुरा गर्ने कोशिस गरे,' पारसले भने ।
सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका पारसले सन् २००९ बाट कप्तानी सम्हालेका थिए । तर, पारसले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै १० वर्षे कप्तानी यात्रा अन्त्य गर्ने घोषणा गरेका थिए ।
यस्तै पारसले अबको कप्तानी छनोटको जिम्मा संघका पदाधिकारीले गर्ने बताए ।
'अबको कप्तान को बन्छ भन्नेमा मेरो निर्णय हुँदैन । मलाई पनि पहिले भनिएको थिएन्,' पारसले भने, 'अबको कप्तान छनोट क्रिकेट पदाधिकारीले गर्नु हुनेछ । जो कप्तान आएपनि नेपाल क्रिकेटको जित हुनुपर्छ ।'
यस्तै पारसले अब आफु पुनः कप्तानीमा नफर्कने बताए ।
'फेरि पनि मलाई कप्तानको जिम्मेवारी लिन आग्रह आयो भने त्यो स्वीकार हुनेछैन। म कप्तानका रुपमा फर्कन्नँ,' उनले भने, 'खेलाडीको रुपमा भने छानिएँ भने योगदान गर्न तयार छु। आजकै दिनबाट मेरो कप्तानको यात्रा सकिएको छ।'
पारसले आफ्नो कप्तानीले मात्र नेपाली क्रिकेट यहाँसम्म नआएको बताए ।
'म कप्तान भएर नेपाली क्रिकेट यहाँ आइपुगेको होइन। म कप्तानीबाट हट्दैमा नेपाली क्रिकेट खत्तम हुन्छ भन्ने पनि छैन। क्रिकेट भनेको हामी सबैको हो,' पारसले थपे ।