एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) हुने पहिलो खेलमा वेल्स र स्विजरल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।
अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा प्रतिस्पर्धा गर्दै वेल्स र स्विजरल्याण्डले युरोकपको सुरुवात गर्ने छन् । दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
समूह 'ए’ मा रहेका दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुनेछ । यस समूहबाट इटालीले विजयी सुरुवात गरिसकेको छ । उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो ।
वेल्स र स्विजरल्याण्डबीच अहिलेसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्विजरल्याण्ड बलियो देखिएको छ । स्विजरल्याण्डले पाँच खेलको जितेको छ भने वेल्सले २ खेल मात्र जितेको छ ।
यी दुई राष्ट्रबीचको खेलमा मुख्य केन्द्रविन्दुमा रहने छन्, स्विजरल्याण्डका सेरडान शाकिरी र वेल्सका ह्यारी विल्सन । दुबै खेलाडी आफ्नो राष्ट्रको लागि महत्वपूर्ण खेलाडी हुन् । आजको खेलमा दुबै खेलाडीको प्रदर्शनले ठुलो अर्थ राख्ने छ ।
प्लेयर्स टु वाच :
सेरडान शाकिरी (स्विजरल्याण्ड) :
शाकिरीको व्यक्तित्व स्विजरल्याण्डसँगै इंग्लिस क्लब लिभरपुरसँग जोडिन्छ । २९ वर्षीय मिडफिल्डर तथा विंगर वेल्सविरुद्ध प्रभाव जमाउन सक्छन् । शाकिरीसँग स्विजरल्याण्डको उमेर समूह यू-१७, १८, १९, २१ सहित राष्ट्रिय टोलीबाट खेलेका अनुभव छ ।
सन् २०१० बाट राष्ट्रिय टोलीको नियमित सदस्य रहेका उनले ९१ खेल खेल्दै २३ गोल गरेका छन् । व्यवसायिक फुटबलका लागि उनी लिभरपुरमा रहेका छन् । यस अघि उनले स्टोक सिटीसँगै इन्टर मिलन, बायर्न म्युनिखसँग खेलेको अनुभव छ ।
शाकिरीका लागि सन् २०१६ को युरोकप सम्झन लायक रहनेछ । पोल्याण्डविरुद्ध बक्स नजिकबाट ओभर हेड किक गोल गर्न सफल भएका थिए । द्रूत गति, प्राविधिक र शारीरिक रुपमा बलिया शाकिरी राइट विंगबाट खेल्न मन पाउँछन् । बायाँ खुट्टाले जादु देखाउने शाकिरीलाई अल्पाइन मेसीको ब्राण्डले चिनिन्छ ।
ह्यारी विल्सन (वेल्स)
विंगर ह्यारी विल्सन वेल्सका युवा खेलाडी हुन् । २४ वर्षीय ह्यारी व्यवसायिक फुटबलका लागि इंग्लिस क्लब लिभरपुलमा आबद्द छन् । तर, उनी लोनमा कार्डिफ सिटीबाट खेलिरहेका छन् ।
ह्यारी फ्रिकिक बल सहजै फेममा पार्न सक्ने खेलाडी हुन् । उनीसँग दाया बायाँ दुबै फ्लागबाट खेल्ने सक्ने क्षमता रहेको छ ।
ह्यारीले वेल्सबाट २६ खेल खेल्दै ५ गोल गरिसकेका छन् । स्विजरल्याण्डविरुद्ध ह्यारी वेल्सका मुख्य खेलाडी बन्न सक्छन् । ह्यारीसँग वेल्सको यू-१७, १९ र २१ टोलीबाट खेलेको अनुभव रहेको छ ।