काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेम्सको तयारी नरोक्ने भएको छ ।
चीनमा आयोजना हुने २१ औं संस्करणको प्रतियोगिता स्थगित भएपनि नेपालले एसियन गेम्सको तयारी नरोक्ने भएको हो ।
एसियन गेम्स चीनमा सेप्टेम्बर १० देखि २५ गतेसम्म आयोजना हुने तय थियो ।
कोभिडका कारण प्रतियोगिता तत्कालका लागि स्थगित भएको छ । प्रतियोगिताको नयाँ मिति सार्वजनिक भएको छैन ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता स्थगित भएपनि एसियन गेम्सको तयारी नरोकिने खेलपाटीलाई बताए ।
‘एसियन गेम्समा सहभागी हुने सबै संघलाई सम्पर्क गरेको छु । प्रतियोगिता स्थगित भएपनि तयारी र प्रशिक्षण रोकिदैन ।’ उनले भनेका छन् ।
उनले एसियन गेम्सका लागि छनोट भएका खेलाडीलाई राखेर प्रशिक्षण सुचारु गरिने बताएका छन् ।
नेपालले एसियन गेम्समा सहभागी हुने खेल संख्या टुङ्गो लगाएर खेलाडीको प्रारम्भिक छनोट समेत सम्पन्न गरिसकेको छ ।
नेपालले आसन्न एसियन गेम्समा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, महिला भलिबल, पुरुष भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागीता जनाउने पक्का गरेको छ ।
राखेपले राष्ट्रिय टिमको तयारी अघि बढाउन र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेल संख्या लगायतको टुङ्गो लगाउन हाइ पर्फमेन्स कमिटि गठन गरेको थियो । सोही कमिटिको सिफारिसको आधारमा राखेपको बोर्ड बैठकले एसियन गेम्समा सहभागी हुने खेल संख्याको टुङ्गो लगाएको थियो ।
सदस्य सचिव घिसिङले चाँडैनै प्रशिक्षणको मिति सार्वजनिक गरिने बताए ।
‘शनिबार बैठकको आयोजना गरेका छौं । त्यही बैठकमार्फत प्रशिक्षणको चरित्र, कहिलेबाट सुरु गर्ने लगायतको औपचारिक निर्णय गर्नेछौं ।’ उनले भने ।
सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारीसँगै एसियन गेम्सको छनोटलाई समेत संगै अघि बढाएको थियो । एसियन गेम्स प्रतियोगिता स्थगित भएपनि एसियन गेम्सको छनोटले पूर्णता पाएको थियो । तर नवौं राष्ट्रिय खेलकुदको विषयमा अन्यौलता कायमै छ । नवौं राष्ट्रिय जेठ २२ देखि २८ गतेसम्म सञ्चालन गरिने निर्णय गरिएको थियो ।