विराटनगर। अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै शतक प्रहार गरेपछि विराटनगरको वाईआरसीसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
वाईआरसीसीले सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। विराटनगरले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको सुनसरीले १६.३ ओभरमा सबै विकेट गुमाई ९१ रन मात्रै बनाउन सक्यो।
सुनसरीका सोनु मण्डलले २२ बलमा २५ रन, आकाश सर्राफले १५ रन र सुमन गतराजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन्।
विराटनगरका बलर बिपिन खत्री, शोजराज भट्ट र नारायण जोशीले समान २/२ विकेट लिए।
त्यसअघि विराटनगर जुट मिलको खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१४ रन बनाएको थियो।
विराटनगरका अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए। उनले २० छक्का र ११ चौका हिर्काए। ओपनर देव खनाल १० बलमा ३१ रन बनाएर आउट भए।
यसअघिको खेलमा उनले ३० बलमा शतक प्रहार गरेका थिए। त्यसैगरी, इमरान नजिरले १७ बलमा ३६ रन पारी खेल्दा सन्दीप खत्रीले ९ बलमा ३५ रनको योगदान दिए।
सुनसरीका समीर तिम्सिना र भुपाल लुईँटेलले समान २/२ विकेट लिए। सोनु मण्डल र गौरव कटुवालले समान १/१ विकेट लिए। पहिलो खेलको प्लेर अफ द म्याच अभिषेक पाठक घोषित भए।