काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फुटबलको कुनैपनि गतिविधिमा सामेल नहुन चेतावनी दिदै पत्र पठाएको छ ।
फिफाले अझै प्रतिबन्धमा रहेको कारण थापालाई फुटबल गतिविधिमा सामेल नहुन चेतावनीसहितको पत्र काटेको एन्फाले जनाएको छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई लेखेको पत्रमा फिफाका प्रमुख सदस्य संघ अधिकृत केनी जीन मारी र एएफसीका उपमहासचिव भाहिद कार्दनीले पूर्व अध्यक्ष थापामाथि लगाइएको प्रतिबन्धबारे स्मरण गराएको छ ।
थापाले फिफाको निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफाको अनुशासन समितिमा रिपोर्ट गर्न पत्रमा भनिएको छ ।
भ्रष्ट्राचारको आरोपमा २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धसहित उनीमाथि २० हजार स्वीस फ्र्यांक (करिब २१ लाख रुपैयाँ) जरिवाना गरेको थियो । थापामाथि फिफाले सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा घूस लिएको आरोप लगाएको थियो ।
तर, थापाले गत बुधबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
पत्रकार सम्मेलनमा थापाले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो चरित्रहत्या गरेको आरोप लगाएका थिए ।