काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफको दौडबाट बाहिरिएको मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सले शुक्रबार वानखेडे स्टेडियममा हुने आफ्नो अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको शुखद् अन्त्य गर्ने लक्ष्यमा हुनेछन्।
मुम्बई धेरैअघि नै प्लेअफको दौडबाट बाहिरिएको थियो। लखनउले अन्तिम खेलमा ठूलो अन्तरले जित हासिल गरे पनि अन्तिम चारमा पुग्ने सम्भावना नगण्य छ। तीन खेलमा लगातार हार बेहोरेपछि लखनउले अंक गुमायो र रनरेट पनि खस्कँदै गयो।
कोलकाता नाइट राइडर्ससँग ९८ रन, सनराइजर्स हैदरावादसँग १० विकेट र दिल्ली क्यापिटल्स १९ रनले पराजित भएको थियो। सातौँ स्थानमा रहेको लखनउको नेटरनरेट माइनस ०.७८७ छ भने छैटौँ स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरको नेटरनरेट ०.३८७ रहेको छ।
पाँच पटकको आईपीएल विजेता मुम्बई प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको थियो। नयाँ कप्तान हार्दिक पाण्ड्याको टोलीको प्रदर्शन यस सिजन निराशाजनक रह्यो। १३ मध्ये ४ मा मात्र जित हात पारेको मुम्बईको १० अंक हुनेछ। सिजनअघि रोहित शर्मालाई रिप्लेस गरेका कारण मुम्बईका समर्थशकरू निकै आक्रोश थियो, जसले टोलीको प्रदर्शनमा पनि असर पारेको थियो।
ब्याट्सम्यानहरू पूर्ण रूपमा निराश भए भने जसप्रित बुमराह (१३ खेलमा २० विकेट) ले अन्य बलरहरूलाई राम्रो प्रदर्शन गर्न प्रेरित गर्न सकेनन्।
यस खेलमा विश्वकप टोलीमा रहेका पाण्ड्या, रोहित, बुमराह र सूर्यकुमार यादवको ध्यान केन्द्रित हुनेछ। रोहित पछिल्लो ६ इनिङ्समा असफल भएका छन् र उनको उच्च स्कोर १९ रन रहेको छ। पाण्ड्याले अलराउन्डरको भूमिका राम्रोसँग निर्वाह गर्न सकेका छैनन्। सूर्यकुमारले ३ अर्धशतक र १ शतक प्रहार गर्दै आत्मविश्वास बढाएका छन्।
लखनउका कप्तान केएल राहुलले १३६.३६ को स्ट्राइक रेटमा ३ अर्धशतकसहित ४६५ रन बनाएका छन्। यद्यपि उनको स्ट्राइक रेट चर्चाको विषय बनेको थियो। निकोलस पूरन (१६८.९२ को स्ट्राइक रेटमा ४२४ रन) ले राम्रो प्रदर्शन गरे पनि टोली एक इकाइको रूपमा असफल सावित भएको छ।