काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावको मुखमा पूर्व अध्यक्ष गणेश थापाले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
फिफाको प्रतिबन्धमा रहेका थापाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
एन्फाको केन्द्रीय निर्वाचन आगामी असार ६ गते हुँदैछ ।
पत्रकार सम्मेलनमा थापाले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो चरित्रहत्या गरेको आरोप समेत लगाए ।
जसको कारण पछिल्लो ७ वर्ष आफुले निकै मानसिक पीडा भोगेको थापाले बताए ।
यस्तै थापाले पत्रकार सम्मेलनमा शेर्पाले लगाएको विभिन्न आरोपहरुको भिडियो क्लिप सावर्जनिक गरेका थिए ।
थापाले उक्त आरोपमध्ये एउटा आरोप पुष्टि गर्न चुनौती दिए । उनले आरोपको कारण आफुले जीवन नै अन्त्य गरौँ की जस्तो लाग्ने गरेको बताए ।
थापाले पत्रकार सम्मेलनको मुख्य उदेश्य आरोप प्रमाणित गर्नुस भन्नु रहेको र एन्फाको निर्वाचनसँग कुनैपनि सम्बन्ध नरहेको बताए । नितान्त आफ्नो व्यक्तिगत र संवेदनशील विषय भएकाले आफ्नो पीडालाई बुझिदिन उनले आग्रह गरे ।
थापाले आफुलाई न्याय दिनु भन्न आएको र अगि जेठ ३ गतेबाट आरोपको विषयमा विभिन्न निकायमा जाने बताए ।
थापाले अब माफी मागेर छुट नहुने भन्दै आरोप पुष्टि नगरे फिफाको आर्टिकल अनुसार कर्माले कारबाही भोग्नुपर्ने बताए ।
यस्तै थापाले एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार गरे । जसको कारण आफुले फिफाको प्रतिबन्ध भोगेको बताए ।
थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो ।
पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धसहित उनीमाथि २० हजार स्वीस फ्र्यांक (करिब २१ लाख रुपैयाँ) जरिवाना गरेको थियो । थापामाथि फिफाले सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा घूस लिएको आरोप लगाएको थियो ।
आफु पीडामा रहेको कारण परिवारसँग छलफल गरेर प्रतिबन्ध फुकुवाका लागि खेलकुदको सर्वोच्च न्यायिक निकाय कासमा अपिल नगरेको उनले बताए । त्यसबेला मुद्दा मामिलामा जाने शाहस नभएको समेत उनले बताए ।
थापाको विज्ञप्ति -