काठमाडौं । जिल्ला फुटबल संघ स्याङ्जा र मकवानपुरको साधारण सभा सम्पन्न भएका छन् ।
शनिबार सम्पन्न साधारण सभाले स्याङ्जामा मुक्तबहादुर रानालाई पुन एक पटक निर्विरोध अध्यक्ष चयन गर्यो भने मकवानपुरमा टिकाराम लामा निर्वाचनमार्फत अध्यक्षमा दोहोरिए ।
मकवानपुर एन्फाका पूर्व अध्यक्ष गणेश थापाको गृह जिल्ला हो । तर टिकाराम एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा निकट मानिन्छन् । उनले सार्वजनीक रुपमा शेर्पाको प्रतिरक्षा गर्दै आएका छन् ।
लामाले मनिष श्रेष्ठलाई १० मतले हराउँदै नयाँ नेतृत्वमा चुनिए । लामाले १९ र श्रेष्ठले ९ मत प्राप्त गरे । उपाध्यक्षमा अरुण बल, युवराज लामा र अजय मानन्धर निर्वाचित भए । उपाध्यक्षका प्रत्यासी राजकुमार श्रेष्ठ र नवराज बज्राचार्य पराजित बने । महिला सदस्यमा एलिसा आले निर्वाचित भईन् ।
कार्यसमिति सदस्यमा सचिन राई, आशिष थापा, दिनेश चौलागाई, कृष्ण केसी, विकेशलाल श्रेष्ठ, राजाराम थोकर, आलोक स्याङ्तान, पुष्पराज पुडासैनी, सचिन्द्र लामा र नवराज तिम्सिना निर्वाचित भए ।
उता, स्याङ्जाको जिल्ला फुटबल संघको नेतृत्वमा मुक्तबहादुर राना निर्विरोध रहे । उपाध्यक्षमा सरद गुरुङ, भिमप्रसाद पंगेनी र सुन्दर श्रेष्ठ समेत निर्विरोध चुनिए । महिला सदस्यमा सगुन थापा निर्विरोधि निर्वाचित भईन् ।