काठमाडौँ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले सन् २०२५ को च्याम्पियन्स ट्रफीमा भारतले खेल्ने सबै खेल लाहोरमा राख्ने भएको छ।
पीसीबीले १७ वर्षपछि पहिलो पटक भारतीय टोलीलाई पाकिस्तान भ्रमण गराउन हरसम्भव प्रयास गरिरहेको छ। पीसीबीले कराँची, लाहोर र रावलपिण्डीमा दुई सातासम्म चल्ने प्रतियोगिता आयोजना गर्न लागेको हो।
ईएसपीएनक्रिकइन्फोका अनुसार भारतका सबै खेल लाहोरमा खेलाउने गरी पीसीबीले सेड्युल ड्राफ गरेको छ। फाइनल पनि यहीँ हुने पीसीबीले जनाएको छ। भारतलाई एउटै शहरमा खेलाउँदा सुरक्षा चिन्ता कम हुने पीसीबीको आकलन रहेको छ। लाहोरमा रहँदा वाघा बोर्डर पनि पार हुनेछ, जसले भारतीय समर्थकलाई त्यहाँ जान सजिलो बनाउनेछ।
पीसीबीका अध्यक्ष मोहसिन नक्वीले यसै साताको शुरूमा आफूहरूले ड्राफ्ट तयार गरेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पठाएको बताएका थिए। ड्राफ्टमा छलफल हुन बाँकी रहेको छ। सबैभन्दा महत्त्वपूर्ण मुद्दा भारतीय टोली पाकिस्तान जाने या नजाने भन्ने हुनेछ।
सन् २००८ को एशिया कपपछि भारतीय टोलीले पाकिस्तानमा कुनै पनि खेल खेलेको छैन। त्यस वर्ष मुम्बईमा भएको आक्रमणपछि दुई देशबीचको सम्बन्ध निरन्तर बिग्रँदै गएको छ। गत वर्ष पाकिस्तानले एशिया कप आयोजना गर्दा हाइब्रिड मोडल अपनाउन बाध्य भएको थियो। भारतले श्रीलंकामा पाकिस्तानविरुद्धको खेलसहित सबै खेल खेलेको थियो।
पाकिस्तानले गत वर्ष भारतमा भएको एक दिवसीय विश्वकपमा पनि आफ्नो लागि हाइब्रिड मोडलको माग गरेको थियो। तर, आईसीसीले अस्वीकार गर्यो। पाकिस्तानले विभिन्न ५ मैदानमा खेल खेलेको थियो र समूह चरणबाटै बाहिरिएको थियो। च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली पाकिस्तान जाने कि नजाने भन्ने निर्णय बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले भन्दा भारत सरकारले गर्ने छ।
कराँचीमा मंगलबार साँझ बोल्दै नक्वीले प्रतियोगिताका लागि आठवटै टोली पाकिस्तान आउने आशा व्यक्त गरे। सन् १९९६ को विश्वकपमा भारत र श्रीलंकासँग सह–आयोजना गरेपछि पाकिस्तानले आयोजना गर्न लागेको यो पहिलो आईसीसी प्रतियोगिता हो। सन् २००८ मा पाकिस्तानले आयोजना गर्ने भनिएको थियो, तर यो प्रतियोगिता स्थगित गरिएको थियो। त्यसपछि सुरक्षाको कारण देखाउँदै यसलाई दक्षिण अफ्रिकामा सारिएको थियो।