काठमाडौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेद सहित कुटपिटको भर्त्सना गरेको छ ।
संघका अध्यक्ष दिपक श्रेष्ठले आज (बुधबार) बिज्ञप्ती जारी गर्दै एथ्लेटिक्सकी कीर्तिमानी खेलाडीमाथि भएको विभेद र कुटपिटको दोषीलाई कडा कारबाहीको माग गरेको छ ।
संघले खेलाडीको अवस्था बुझ्न र सहयोग गर्न सम्बन्धित संघ, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको ध्यानकर्षण गराएको छ ।
‘संविधानलेनै जातीय दुब्र्यवहारका घटनालाई प्रतिबन्ध गरेको र संविधानले रोक लगाएको यस्तो अमानवीय घटनाको नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ घोर भर्त्सना गर्दछ ।’ संघका अध्यक्ष श्रेष्ठद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
संघले खेलाडीमाथिको दुव्र्यवहार सह्य नहुने भन्दै घाईत चन्द्रकलाको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
सोमबार राति झापाको मेचिनगर चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा चन्द्रकला सहित उनका श्रीमान सुमन खातीमाथि आक्रमण भएको थियो ।
स्थानीय दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुको कुटाईबाट घाईते भएकी गर्भवती चन्द्रकलाको बीएन्डसी अस्पतालमा उपचार भईरहेको छ ।