काठमाडौं । ए डिभिजन क्लब हिमायलन शेर्पा क्लबका फरवार्ड विश्वास श्रेष्ठको घरमा आगलागी भएको छ ।
शनिबार राति स्याङ्जाको वालिङमा रहेको तीन तले घरमा आगो लागेको हो ।
साँझको समयमा खाना पकाउने बेला ग्यास चुहावट भएर आगो लागेको विश्वासले खेलपाटीलाई बताए ।
‘साँझ खाना बनाउने क्रममा आगो लाग्न पुग्योे ।’ विश्वासले भने ।
आगलागीले तीन तले घरको माथिल्लो तलालाई पुर्णरुपमा क्षति पुर्याएको छ ।
भान्छा कोठा सहित अन्य दुई कोठाका सामान पुर्ण रुपमा जलेको विश्वासले बताए ।
यस्तै, भान्सा कोठामा रहेकी आमालाई समेत सामान्य चोट लागेको छ ।
‘भान्सा कोठा सहित ३ कोठा जलेका छन् । सामानमा पुर्ण रुपमा क्षति पुगेको छ । आमाको हातमा सामान्य चोट लागेको छ ।’ विश्वासले भने ।
आगलागीमा दुई लाख नगद रुपैयाँ समेत जलेर नष्ट भएको छ ।
'नयाँ घरको ढलान गर्ने कार्यक्रम रहेको थियो । जसकालागि छुट्याएको २ लाख रुपैयाँ पुर्ण रुपमा जलेको छ ।' विश्वासले भने ।
भान्सा कोठामा राखिएको फ्रिज सहित बर्षभरीका लागि सञ्चित गरेर राखिएको सामानमा पूर्ण रुपमा क्षती पुगेको छ । लत्ताकपडा सबै जलेका छन् । क्षतीको एकिन विवरण आउन बाँकी छ ।
रातिनै वालिङ नगरपालिकाको बारुण यन्त्र आएर आगो निभाउने काम गरेको थियो ।
घरेलु लिगमा हिमालयन शेर्पा क्लबसंग आबद्ध विश्वास पछिल्लो समय चोटका कारण मैदान बाहिर थिए । खुट्टाको चोटका कारण उनले गत सिजन ए डिभिजन लिगका अधिकांश खेल गुमाउनु परेको थियो ।
विश्वास उमेर समूहको यू–१५, यू–१६, यू–१९ र यू–२३ का महत्वपूर्ण खेलाडी थिए । विश्वास राष्ट्रिय टिमको क्लोज क्याम्पमा परेका खेलाडी हुन् ।