काठमाडौं । मृगौला पीडित राष्ट्रिय क्रिकेटर कुन्दन सिंहलाई अष्ट्रेलियामा रहेका नेपाली खेलप्रेमीहरुले आर्थिक सहयोग गरेका छन् ।
कुन्दन बचाउ अभियान चलाईरहेको प्रदेश नम्बर २ क्रिकेट संघले बिहीबार अष्ट्रेलियामा रहेका नेपालीले १ लाख ८९ हजार २८० रुपैयाँ सहयोग गरेको जनाएको छ ।
संघका सचिव आयुष श्रेष्ठले पूर्व खेलाडी यशवन्त सुवेदीको पहलमा संकलन भएको उक्त रकम संघको खातामा आएको बताएका छन् ।
अभियानलाई क्रिकेटर सुनाम गौतमको अगुवाईमा अष्ट्रेलियाको एडीलेड नेप्लिज क्रिकेट एसोसिएसनले ९४ हजार सहयोग प्रदान गरेको पनि संघले जनाएको छ ।
संघले कुन्दन बचाउ अभियानमा गत महिना संघबाट १ लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ ।
यस्तै संघले कुन्दन बचाउ अभियानमा धनुषाका क्रिकेट खेलाडी तथा खेल प्रेमिहरुले ६ लाख ६१ हजार ८ सय रुपैयाँ र क्रिकेट अभियन्ता बिज्ञान कार्किले ३ लाख भन्दा बढि संकलन गरिसकेको जनाएको छ ।