एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) का सहकर्मी केलियन एमबाप्पे फुटबल इतिहास कै उत्कृष्ट खेलाडी बन्ने बताएका छन् ।
पछिल्लो समय क्लब र राष्ट्रको लागि उत्कृष्ट खेलिरहेका एमबाप्पेको प्रशंसा गर्दै नेयमारले उनि इतिहासकै उत्कृष्ट खेलाडी बन्ने दाबी गरेका हुन् ।
'मसँग उसको सम्बन्ध मैदान भित्र र बाहिर निकै राम्रो छ । म उसलाई गोल्डेन ब्याई भनेर सम्बोधन गर्ने गर्छु,' खुट्टाको चोटको कारण मैदान बाहिर रहेका नेयमारले भने, 'उ एक यस्तो साथी हो जसको लागि म विशेष स्नेह राख्छु । जो फुटबलको इतिहासमा सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक हुनेछ । र, म उसलाई सक्दो मद्दत गर्ने प्रयास गर्दछु ।'
मोनाकोबाट पीएसजी आएपछि एमबाप्पेले उकृष्ट प्रदर्शन गरिरहेका छन् । फ्रान्सका २० बर्षे एमबाप्पेले यस सिजन पीएसजीबाट ५० गोल गरिसकेका छन् । एमबाप्पेले फ्रान्सबाट विश्वकप र पीएसजीबाट दुई पटक लिग वान उपाधि उचालिसकेका छन् ।
यस्तै नेयमारले एमबाप्पे र आफ्नो सम्बन्ध दाजुभाईको जस्तो रहेको बताए ।
'अभ्यास होस् या खेल । उसको आचरणको बारेमा म उसलाई बताउछु या उसले मलाई बताउँछ । मानौं हामी दाजुभाई हौं,' नेयामारले थपे, 'हामी एक अर्कासंग ईर्ष्या गर्दैनौँ । जब उनले एक गोल गर्छ । उसले मलाई एक पास दिन चाहन्छ । म पनि उसलाई पास दिन्छु । म उसले गोल गरेको हेर्न चाहान्छु । यस्तो सम्बन्ध म बार्सिलोनामा हुँदा लियोनल मेस्सीसंग पनि थियो ।'
यस्तै नेयमारले आफ्नो भविष्यको टिप्पणीबारे बोल्न नमिल्ने बताए । नेयमारले रियल मड्रिडसंग जोडिएर आउने आफ्नो हल्लाहरुले वाक्क लाग्ने गरेको समेत बताए ।