काठमाडौँ। दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध पुनरागमन गर्दै बोरुसिया डर्टमन्ट यूईएफए च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ।
पहिलो लेगमा एट्लेटिकोसँग जर्मन क्लब डर्टमन्ट २-१ गोल अन्तरले पराजित भएको थियो। तर, सिग्नल इडुना पार्कमा मंगलबार राति सम्पन्न दोस्रो लेगमा पाहुना टोली एट्लेटिकोमाथि पुनरागमन गर्दै डर्टमन्टले ४-२ गोल अन्तरको जित हासिल गरेको हो।
समग्रमा डर्टमन्टले एट्लेटिकोलाई ५-४ गोल अन्तरले पराजित गर्यो। डर्टमन्टको जितमा जुलियन ब्रान्ड, इयान माट्सेन, निकोलस फुलक्रग र मार्सेल सबिट्जरले गोल गरे।
यस्तै, एट्लेटिको एन्जल कोरियाले १ गोल गरे भने १ गोल डर्टमन्टले उपहार दिएको थियो।
खेलको ३४औँ मिनेटमा ब्रान्डले गोल गर्दै घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएका थिए। उनले म्याट्स हम्मेल्सको पासमा गोल गरे। त्यसको ५ मिनेटपछि नै माट्सेनले मार्सेल सबिट्जरको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।
दोस्रो हाफ शुरू भएको चौथो मिनेटमा हम्मेल्सले आत्माघाती गोल गर्दा एट्लेटिकोलाई खेलमा फर्किने अवसर जुरेको थियो। ६४औँ मिनेटमा एन्जेलको गोलमार्फत एट्लेटिको खेलमा फर्कियो।
तर, ७१औँ मिनेटमा मार्सेलको पासमा गोल गर्दै फुलक्रगले डर्टमन्टलाई पुन: अग्रता दिलाए। ७४औँ मिनेटमा मार्सेलले नै गोल गर्दै डर्टमन्टलाई ४-२ को जितसहित अन्तिम चारमा पुर्याए।