काठमाडौँ। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित हुँदै स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बााहिरिएको छ।
मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पाहुना टोली पीएजीसँग ४-१ गोल अन्तरले पराजित हुँदै बार्सिलोना अन्तिम ८ बाटै बाहिरिएको हो।
पहिलो लेगमा पीएसजी ३-२ गोल अन्तरले पराजित भएको थियो। समग्रमा बासिलोनामाथि पीएसजीले ६-४ गोल अन्तरको जितसहित अन्तिम चारमा स्थान बनायो।
पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गर्दा ओसमान डेम्बेले र विटिन्हाले १/१ गोल गरे। बार्सिलोनाका राफिन्हाको गोल सान्त्वना रह्यो।
खेलको १२औँ मिनेटमै बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। लिमन यमलको पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाए।
तर, ४०औँ मिनेटमा डेम्बेले आफ्नै पूर्व क्लबमाथि गोल गर्दै पीएसजीलाई खेलमा फर्काए। उनले ब्राडली बारकोलाको पासमा गोल गरे।
दोस्रो हाफ शुरू भएको पाँचौँ मिनेटमा विटिन्हाले गोल गर्दै पीएसजीलाई खेलमा अग्रता दिलाए। उनले अचराफ हाकिमीको पासमा गोलगरे।
५६औँ मिनेटमा बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले रातो कार्ड पाए। ६१औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दा पीएसजी खेलमा ३-१ ले अगाडि रह्यो।
निर्धारित खेल सकिन १ मिनेट बाँकी रहँदा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ४-१ को सानदार जित दिलाए।