काठमाडौँ। झम्सिखेल यूथ क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा गोलबजार स्पोर्ट्स क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार सम्पन्न खेलमा झम्सिखेलले गोलबजारलाई ४-० गोल अन्तरले पराजित गरेको हो। झम्सिखेलको जितमा ओम धामी, सञ्जय रम्तेल, अजय वाइबा र बिक्कि महर्जनले १/१ गोल गरे।
३२औँ मिनेटमा ओमको गोलबाट झम्सिखेलले खेलमा अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि सञ्जयले अग्रता दोब्बर बनाए। ४३औँ मिनेटमा अजयको गोलबाट झम्सिखेलले पहिलो हाफमा ३-० को अग्रता बनायो।
खेलको इन्ज्युरी समयको दोस्रो मिनेटमा बिक्किले गोल गर्दै झम्सिखेललाई ४-० को जित दिलाए। जितसँगै २ खेलबाट झम्सिखेलले ३ अंक जाडेको छ। झम्सिखेल पहिलो खेलमा पराजय बेहोरेको थियो। यता, पहिलो खेलमा जित निकालेको गोलबजार दोस्रो खेलमा भने पराजित भयो। उसको २ खेलबाट ३ अंक रहेको छ।