काठमाडौँ। पेप गार्डिओलाले मंगलबार राति यूईफएए च्याम्पियन्स लिगको क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगमा रियल मड्रिडको सामना गर्न आफ्नो टोली घोषणा गर्दा म्यानचेस्टर सिटीको शुरूआती लाइनअपमा केभिन डी ब्रुएनालाई राखेनन्।
सप्ताहन्तमा क्रिस्टल प्यालेसमाथि सिटीको ४-२ गोल अन्तरको जित हासिल गर्दा ब्रुएनाले दुई गोल र असिस्ट गरेका थिए। ठूलो खेलमा गार्डियोलाले ब्रुएनालाई मैदानबाहिर राखेर अनावश्यक टिंकरिङ गरेको समर्थकहरूले आरोप लगाएका थिए।
तर, सान्टियागो बर्नाबेउमा किक-अफअघि बोल्दै गार्डियोलाले उक्त कुराको खण्डन गरे। ब्रुएना अस्वास्थ्य रहेको कारण उनलाई बेन्चमा राख्नुपरेको उनले स्पष्ट पारे।
'टिम मिटिङ गर्दा उनी खेल्न तयार थिए। तर, हामी लकर रुममा पुग्दा उनले वान्ता गर्न थाले र अस्वस्थ महसुस गरे। त्यसपछि उनले आफूले खेल्न नसक्ने जानकारी गराए र लाइनअपमा राखेनौँ,' उनले भने।
वार्मअपमा पनि ब्रुएना मैदानमा देखिएका थिएनन्। उनीसँगै गार्डियोलाले प्यालेससँगको खेलमा रहेका रिको लुइस, जुलियन अल्भारेज र ओस्कर बब पनि आराम दिएका थिए।